सामाजिक कार्यमा दाङका बालक्लवहरु

देविका घर्ती मगर/दाङ ।
    पश्चिम दाङको पिछडीएको एउटा गाँउ पञ्चकुले । हेर्दा शहर वजार भन्दा सफा र सुन्दर देखिन्छ । सडक साँधुरो र खाल्डा खुल्डी भए पनि कुनै फोहरको थुप्रो वा जथाभावी मलमुत्र देखिदैन । सडक किनारको खुला चउरमा केही वालवालिकाहरु आपसमा छलफल गरिरहेको देख्न सकिन्छ । उनीहरुको छलफल विषेश गरि गाँउलाई कसरी समृद्ध गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो । स्कूल विदा भएको वेला खोला किनार वा धुलो मैलोमा खेल्ने वालवालिकाहरु अहिले आफ्नो गाँउ ठाँउको वारेमा सोच्न र छलफल गर्न सक्ने भएका छन् ।
स्कुल जाने बाहेकको समय साथिहरुसंग खेलेरै बिताउने प्रविण भण्डारी आजभोली खालि समय भयो की गाउँका साथिभाईहरुलाई जम्मा गर्छन, अनि आफ्नो गाउँ अब कसरी सुधार गर्न सकिन्छ ? भन्ने बारेमा छलफल गर्न थाल्छन् । ३ वर्ष पहिले बालक्लवमा आवद्ध भएका पञ्चकुले गाविस–२ कौशिलापुरका प्रविण अहिले सामाजिक कार्यहरुमा समेत आफुलाई सहभागि गराउन थालेका छन् ।
गाउँमा गठन भएको उज्यालो वाल क्लवमा आवद्ध भएपछि प्रविणले धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरेका छन् । बाल क्लवका हरेक गतिबिधिहरुसंग आवद्ध हुँदाहुँदै प्रविण अहिले दुई चार जनाको अगाडी गएर निर्धक्क बोल्न सक्ने समेत भएका छन् । शुरुमा क्लव गठन गर्न दलित सेवा संघको आर्थिक सहयोगमा कार्यक्रमहरु भएका थिए ।
तर अहिले क्लवकै सक्रियतामा बालवालिकाहरु सामाजिक कार्यमा जुटेका छन् ।सरस्वति उमावि चरकमटिया पञ्चकुलेमा अध्ययनरत प्रविणले हरेक वर्ष भर्ना अभियानमार्फत विद्यालय जान नपाएका बालवालिकाहरुलाई विद्यालयमा भर्ना गराउन आफ्नो टोल छिमेकमा व्यक्तिहरुलाई अभिप्ररित गर्ने गरेका छन् ।
    पञ्चकुले गाविसका थारु वस्तीका केही बावालिकाहरु अझैपनी विद्यालय आउन सकेका छैनन् । ति वालवालिकाहरुलाई विद्यालय ल्याउनका लागि हरेक वर्षको भर्ना अभियानमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने गरेका छौ–प्रविणले भने, अझै केही बालवालिकाहरु विद्यालय आउन नसकिरहेको अवस्था छ । यस्तै क्लवले बिभिन्न क्षेत्रबाट आर्थिक संकलन गरी विद्यालयमा आएर पनि आर्थिक अवस्था एकदमै कमजोर भएका विद्यार्थीहरुलाई सहयोग स्वरुप विद्यालय पोशाक तथा अध्ययन सामग्रीहरु समेत सहयोग गर्दै आएको छ । सोही क्लवमा आवद्ध लिला परियार पहिले आफ्ना साथिहरु क्लवमा आवद्ध हुन नमानेपनि अहिले भने धेरै साथिहरु क्लवका गतिबिधिहरुमा संलग्न भैरहेको बताँउछिन । क्लवले बिभिन्न क्षेत्रबाट आर्थिक रकम जुटाएर बालवालिकाहरुको क्षमता अभिबृद्धि, अन्तक्र्रिया तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आएको क्लवमा अध्यक्ष शुसिला थापाले बताईन् । प्रत्येक महिनाको २५ गते क्लवको नियमति बैठक बसेर भावी कार्ययोजना समेत निर्माण गर्ने गर्दछ । पञ्चकुले गाविसका सबै बालवालिकाहरुलाई क्लवमा आबद्ध गराउने उद्देश्यले गाविस भित्रका सबै निमावि र माविमा उज्यालो बाल क्लवकै सक्रियतामा क्लव समेत गठन गरेको छ । ‘हामीले गाविसबाट केही रकम माग गरेका थियौं–क्लवका अध्यक्ष थापाले भनिन, अहिले त्यो रकम गाविसका विद्यालयहरुमा क्लव गठन गर्दा खर्च भएको छ । अध्यक्ष थापाले बचेको पैसाले क्लवको भवन निर्माणका लागि पहल गर्ने समेत बताईन । क्लवका सल्लाहकार स्थानिय पुर्णबहादुर केसीले उज्यालो बाल क्लवका सदस्यहरुले गाउँघर सरसफाई अभियान देखि बिभिन्न सामाजिक गतिबिधिहरु समेत सञ्चाल गर्दै आएको बताए ।
    शान्तिनगर गाविस स्थित परिवर्तनशिल बाल क्लवका कोषाध्यष कामना मल्ल पनि पढाई बाहेकको समय बाल क्लवको गतिबिधिमा ब्यस्त देखिन्छन । २०६५ सालमा गठन भएको गाविसस्तरिय क्लवले गाविसका बिभिन्न गाउँहरुमा भएका खानेपानिका धाराहरु सरसफाई गर्ने, पानिका मुहानहरु सफा गर्ने कार्य गर्दै आएको छ । यस्तै गाविसमा सञ्चालन भैरहेको खुला दिसा मुक्त अभियानमा सहयोग पु¥याउने, बिभिन्न जनचेतनामुलक भित्तेलेखन गर्ने लगायतका कार्यहरु गर्दै आएको क्लवका कोषाध्यक्ष कामनाले बताईन । विद्यालयका प्रांगनहरु सरसफाई गर्ने, विद्यालयका भित्ताहरुमा लेखिएका नराम्रा शब्दहरु समेत मेट्ने काम क्लवले गर्दै आएको छ । परिवर्तनशिल बाल क्लवको अगुवाईमा भर्ना अभियानको क्रममा घरदैलो कार्यक्रम सञ्चालन गरी हालसम्म ९० जनाभन्दा बढी बालवालिकाहरुलाई विद्यालयमा पठाईएको छ । यस्तै क्षमता विकाशसम्बन्धी तालिम, खेलकुद सामाग्री सहयोग लगायतका गतिबिधि पनि सञ्चालन गर्दै आएको छ । नवज्ञान ज्योती बाल क्लव डुरुवा–४ कोठरीका अध्यक्ष निरज पाण्डे क्लवमा लागेपछि गाउँमा धेरै कार्यहरु गर्न पाएकोमा खुसी व्यक्त गरे । गाविसका बिभिन्न गाउँहरुमा सरसफाई, भर्ना अभियानको क्रममा घरदैलो कार्यक्रम, बिभिन्न जनचेतनामुलक कार्यक्रम, सडक नाटक, अन्तक्र्रिया, भित्तेलेखन लगायतका कार्यक्रमहरु क्लले सञ्चालन गर्दै आएको छ । क्लव गठन गर्ने क्रममा बालवालिकाहरुको संख्या कम भएपनि अहिले भने क्लवमा आवद्ध हुन चाहनेहरुको संख्या उल्लेख्य रहेको अध्यक्ष पाण्डेले जानकारी दिए । मावि तेघरामा कक्षा १० मा अध्ययनरत पाण्डेले पढाईलाई असर नपर्नेगरी क्लवका गतिबिधिहरुमा संलग्न हुँदै आएको बताए । लक्ष्मीपुर बाल क्लवका अध्यक्ष विवेक अधिकारी पनि बाल क्वलमार्फत सामाजिक कार्य गर्नमा ब्यस्त देखिन्छन् । ३ वर्ष पहिले वाल क्लवमा आबद्ध भएका अधिकारी मावि गोग्लीमा कक्षा १० मा अध्ययनरत रहेका छन् । गाविसमा सञ्चालन हुने सबैखालका अभियानहरुमा उक्त बाल क्लवको सहभागिता रहने गरेको छ ।
    जिल्लामा बिभिन्न निकायबाट गठन गरिएका बाल क्लवहरु प्राय सबै क्षेत्रमा रहने गरेका छन् । जिल्ला बाल कल्याण समितिका अनुसार जिल्लामा ३ सय ४५ वटा बाल क्लवहरु रहेका छन् । समितिका बाल कल्याण अधिकृत रश्मी पाण्डेले त्यसमध्ये २ सय ९१ वटा समुदायमा आधारित रहेका छन् भने १४ वटा विद्यालयमा आधारित रहेको बताए । जिल्लामा भएका जम्मा बालक्लवमध्ये १ सय २६ वटा जिल्ला बाल कल्याण समितिमा आवद्ध रहेका छन् भने ६८ वटा बिभिन्न गाविसहरुमा दर्ता भएका छन् । जिल्लामा जिल्लास्तरिय बाल सञ्जाल एउटा, नगरस्तरिय बाल सञ्जाल २ वटा र गाविसस्तरिय बाल सञ्जाल १७ वटा रहेका छन् । बाल कल्याण समितिका अनुसार बाल क्लवमा आवद्ध जम्मा बालकको संख्या ५ हजार ७ सय ५७ रहेका छन् भने बालिकाको संख्या ५ हजार ५ सय ५८ रहेको छ । यस बाहेक जिल्लामा बालबालिका सम्बन्धी काम गर्ने करिब १३ वटा संघसंस्था रहेका छन् । ति संघसंस्थाहरुले आफ्नो कार्यक्षेत्र अनुसार विद्यालय तथा समुदायमा बाल क्लवहरु गठन गरेका छन् । यस्तै स्वतफुर्त रुपमा पनि बालवालिकाहरु जागरुक भएर क्लब गठन गर्ने गरेको पाईएको छ । सीड संस्था तुलसिपुरले डुरुवा, पवननगर, मानपुर, उरहरी, गोल्टाकुरी, ढिकपुर र फुलवारी गाविसमा गरी ३६ वटा बाल क्लव गठन गरेको छ । जसमध्ये २० वटा विद्यालयस्तरिय र १६ वटा समुदायस्तरिय रहेको संस्थाका कार्यक्रम संयोजक लबरु चोधरीले जानकारी दिए । सिडमार्फत गठन भएका क्लवहरु जिल्ला बालकल्याण समितिमा आवद्ध हुने प्रक्रियामा रहेका छन् । यस्तै बिसिडि संस्थाले पनि गंगापरस्पुर, गढवा, बेला सतवरिया र गोबरडिया गाविसमा गरी २५ वटा क्लव गठन गरेको जानकारी दिएको छ । संस्थाका तिलक चौधरीले ५ वटा समुदायस्तरिय रहेको र बाँकी विद्यालयस्तरिय भएको जानकारी दिए । संस्थाले जिल्ला बाल कल्याण समितिमा क्लवहरु आबद्ध गर्ने प्रक्रियामा रहेको जानकारी दिएको छ । यस्तै दलित गैर सरकारी संस्था महासंघ (डिएनजिओसिसि) ले गठन गरेको समुदाय स्तरिय ३६ वटा र विद्यालय स्तरिय ८८ वटा बाल क्लव रहेको छ । संस्थाका तुङगदध्वज चौधरीले त्यसमध्ये ३६ क्लव समुदास्तरीय र ८८ कलव विद्यालयस्तरिय रहेको जानकारी दिए । डिएनजिओसिसि मार्फत गठन भएका सबै क्लवहरु जिल्ला बाल कल्याण समितिमा दर्ता भैसकेका छन् । यस्तै राडार संस्था घोराहीले पनि विद्यालय र समुदायस्तरमा गरी ३० वटा क्लव गठन गरेको जानकारी दिएको छ । संस्थाका अध्यक्ष देवेन्द्र केसीले गठन भएका क्लवमध्ये अधिकांश जिल्ला बाल कल्याण समितिमा आबद्ध भैसकेको र बाँकी क्लवहरु प्रक्रियामा रहेको बताए । बालवालिकाकै क्षेत्रमा काम गर्दै आएको स्वान संस्थाले ५० वटा क्लव गठन गरेको छ । संस्थाका भागिराम चौधरीले देउखुरीका १० गाविसमा २ वर्षपहिले समुदायस्तरीय बाल क्लव गठन गरेको जानकारी दिए । यस्तैसहयोग समाज तुलसिपुरले २८ वटा क्लव गठन गरेको छ । व्याकवार्ड स्वसाईटी एजुकेशन (बेस) संस्थाले गठन गरेको ५७ वटा गाउँस्तरीय बाल क्लव रहेका छन् । दलित सेवा संघ तुलसिपुरले ५ वटा गाविस स्तरिय र ३ वटा तुलसिपुर नगरपलिकामा बाल क्लव गठन गरेको छ ।
    गाविसमा क्लवले अन्य सामाजिक कार्यहरुमा पनि काम गर्न थालेपछि समाजमा सकारात्मक प्रभाव पर्दै गएको शान्तिनगर गाविसमा निराश पाण्डेले बताए । ‘पहिले समाजमा हुने गरेका सबै कामहरु केही टाठाबाठाहरुले मात्र गर्ने भएका कारण सबैमा प्रभाव पर्न सकेको थिएन–उनले भने, अहिले बाल क्लवका बालवालिकाहरु पनि खानेपानिको मुहान, धारा, विद्यालय सरसफाई लगायत बिबिध कार्यमा अग्रसर भएपछि अहिले सबैमा सकारात्मक प्रभाव पर्दै गएको छ ।’ महिला तथा बालवालिका कार्यालय दाङका प्रमुख तथा बाल कल्याण अधिकारी प्रभा श्रेष्ठले अहिले जिल्लामा प्राय गाविसहरुमा बिभिन्न संघसंस्थाबाट गठन गरिएका बाल क्लवहरुले सामाजिक परिवर्तनका निम्ती महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । ‘अहिले जसरी जिल्लामा बाल क्लवहरु गठन गरिएका छन्, ति क्लवहरुले समाज परिवर्तनका निम्ती महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका छन्–उनले भने ।

(सेभ द चिल्ड्रेनको सहयोगमा नेपाल पत्रकार महासंघ क्षेत्रिय मसन्वय समिति मध्यपश्चिम सुर्खेतद्धारा आह्वान गरिएको बालवालिकामा मुद्दाहरुसंग सम्बन्धीत लेखनबृत्ति (फेलोसिप) लेख्ने अवसर प्राप्त गरेपछि बालक्लवका गतिबिधिहरुसंग सम्बन्धीत लेखिएको फिचर–२०६८।)

Comments

Popular posts from this blog

अथार मगरात (खाम भाषि मगरहरु) क्षेत्रको महत्वपुर्ण चाड नोगोबाङ्गे (भुम्या)

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा