कसरी भुल्ने नरसंहार ?

सरकारले द्वन्द्वकालका जघन्य अपराधका दोषीलाई माफी दिनेगरिको कानून बनाएपछि त्यसवेलाका ठूल्ठूला नरसंहारले पनि मान्यता पाउने अवस्था सिर्जना भएको छ ।

  देविका घर्ती मगर, दाङ, गोपाल गडतौला, झापा
दाङको कौवाघारी हत्याकाण्डका पीडितहरु । तीन छोरा गुमाएकी बिजुली सार्की तथा मृतकहरु भीमबहादुर सार्की, रमेश सार्की र निपबहादुर सार्कीका पत्नीहरु सीता, लक्ष्मी र सावित्रा दायाँबाट क्रमश: । 
तस्वीर: देविका घर्तीमगर

१३ मंसीर २०५८ को अपरान्ह ३ बजेतिर दाङको घोराही नगरपालिका–३ बर्गदीमा दाइँ गरिरहेका ११ जनालाई तत्कालीन शाही नेपाली सेनाको टुकडीले खलामै लाइन लगाएर एकै चिहान बनायो ।
मारिनेमा प्रसादु चौधरी, रूपलाल चौधरी, रामु चौधरी, कृष्ण चौधरी, आशाराम चौधरी, शीतलाल चौधरी, जोगी चौधरी, सोन्द्रा चौधरी, रिस्मान चौधरी, खुशीराम चौधरी र जगमान चौधरी थिए । उनीहरू सबै जमिनदारको खेत कमाउने किसान थिए ।
त्यो नरसंहारमा एउटै परिवारका चार जना परेका थिए– प्रसादु, उनका कान्छा भाइ शीतलाल र माइला भाइका छोराहरू जगमान र खुशीराम । प्रसादुकी श्रीमती फुलमानी चौधरी (६२) अपराधीले उचित सजाय पाएपछि पनि त्यो घटनालाई बिर्सन नसकिने बताउँछिन् ।
जगमानकी श्रीमती पार्वती त्यसवेला १६ वर्षकी थिइन् । उनको काखमा ७ महीनाकी छोरी थिई । उनी श्रीमान् मारिनुको कारण अझै थाहा नभएको बताउँछिन् । त्यो घटनापछि सिंगो परिवार जमिनदारको खेत जोत्न पनि नसक्ने अवस्थामा पुगेको उनले बताइन् ।
२७ वर्षको उमेरमा विधवा भएकी खुशीरामकी श्रीमती भौनी चौधरीको काखमा त्यो वेला ७ र ४ वर्षका छोरा थिए । तिनलाई हुर्काउन घोराही बजारमा मजदूरी गरिरहेकी भौनी भन्छिन्, “हामी अर्काको जग्गा कमाएर खान्थ्यौं, खल्यानमा काम गरिरहेका मान्छेको के दोष थियो र मारे ?”
बर्गदीकी बुधनी, पुन्या र चमेली चौधरी पनि त्यही नरसंहारका पीडित हुन् । आफूहरूले न्याय नपाएको बताउँदै पुन्या आफ्ना श्रीमान्को हत्या गर्नेलाई कारबाही भएको हेर्न पाए चित्त बुझउन सजिलो हुनेथियो भन्छिन् । बर्गदी हत्याकाण्डका पीडित परिवारले लाश पनि पाँच दिनमा मात्र पाएका थिए । सेनाले एघारै जना निर्दोषको शव गाउँ छेवैमा एकै ठाउँमा गाडेको थियो ।
गोल्टाकुरीमा पनि उस्तै
बर्गदी हत्याकाण्डको चार महीनाअघि १६ साउन २०५९ दाङकै गोल्टाकुरी–८ कौवाघारी नजिक राजाकोट सामुदायिक वनमा पनि सेनाले १२ जना निर्दोष गाउँलेको सामूहिक हत्या गर्‍यो ।
दाउरा लिन गएको वेला मारिनेमा कौवाघारी सार्कीटोलका निपबहादुर सार्की, रेशम सार्की, सोमराज सार्की, मंगल सार्की, भुपाल सार्की, रमेश सार्की, देविराम सार्की, रमेश सार्की, रामप्रसाद सार्की, रामलाल सार्की, जोगबहादुर सार्की र फुलबारी–५ का खड्कबहादुर बिक थिए । यीमध्ये मंगल, भुपाल र रमेश एकाघरका दाजुभाइ थिए ।
मुश्किलले बाँचेका छवे सार्की (४३) का अनुसार, हत्यारा सैनिकहरूले मारिएकाहरूलाई राम्रैसँग चिन्थे । “उनीहरू सागसब्जी लिन र अरू वेला पनि गाउँमा आइरहने सैनिक थिए”, छवे भन्छन्, “नेटा पुगेपछि भेटिएका उनीहरूले हामीलाई राम्रै मुखले तपाईंहरू माओवादी हो भनेर सोधेका थिए ।
हामीले मजदूरी गरेर खाने सर्वसाधारण हौं, दाउरा लिन जंगल जाँदैछौं भन्यौं ।” राजाकोटको टेलिफोन टावर सुरक्षार्थ खटिएका ती सैनिकले त्यसपछि गफ गर्दै अगाडि लगाएर लगेको छवे बताउँछन् ।
उनका अनुसार, टावर नजिकै पुगेपछि लाइन लगाएर नाम लेख्दै सबैको आँखामा पट्टी बाँधेर गोली चलाए । त्यही क्षणमा ओरालोतिर उफ्रेर भागेका छवेलाई सेनाले दुई गोली हान्यो, तर लागेन । उनी जंगलैजंगल बबई खोलामा झ्रेर पारिको गाउँमा लुके । अनि त्यहींबाट भारततिर लागेर बाँचेका उनी भन्छन्, “अरू सबैलाई एकै चिहान पारे ।”
पति रमेशको हत्या हुँदा लक्ष्मी सार्की (३६) को तेस्रो बच्चा गर्भमा थियो । त्यसवेला सेनाले कसैले काजकिरिया गरे मारिदिने धम्की दिएको बताउने लक्ष्मी सरकारले हत्याराहरू नचिनाएर आफूहरूको घाउमा नूनचूक दलेको बताइन् । उनले भनिन्, “श्रीमान्को हत्यारा यही हो भनेर चिनाउनुको साटो माफी दिएर हामीमाथि अन्याय थप्न पाइन्न ।”
एक्लो छोरो दिनेश गुमाएका देवबहादुर सार्की (५९) अहिले दुई नाति र एउटा नातिनी हुर्काइरहेका छन् । निर्दोष छोरो मार्नेहरूलाई कारबाही भएको हेर्न चाहेको बताउने उनले त्यो नभएसम्म घाउमा खाटा नबस्ने बताउँछन् ।
त्यस घटनामा तीन छोरा गुमाएकी बिजुली सार्की (५८) ले हत्यारालाई कुनै हालतमा नछाड्ने बताइन् । पति रामप्रसादको हत्यापछि ६ छोरी र एक छोरा हुर्काएकी सीता सार्की (५०) ले भनिन्, “पत्ता मात्रै लागोस्, सरकारले नगरे हामी आफैं कारबाही गर्छौं ।”
माफी होइन न्याय
१ वैशाख २०६३ दिउँसो झापाको बेलडाँगीमा माओवादीको गोली प्रहारबाट मारिएकी रेनुका राईका पति गजेन्द्र राई र छोरा रुपेश । तस्वीर: गोपाल गडतौला
पत्नी रेनुका र छोरो रूपेश (१३) लाई झपाको बेलडाँगीस्थित घरमा छाडेर मुस्ताङमा मजदूरी गर्थे, गजेन्द्र राई (३५) । मजदूरहरूले साताको एक दिन सरदारको मोबाइलबाट घरमा फोन गर्न पाउँथे ।
६ वैशाख २०६३ मा फोन गर्दा रेनुकालाई गोली लागेर अस्पताल लगिएको थाहा पाए । देशव्यापी आमहडतालले यातायात र बजार ठप्प भएकोले दुई दिन पैदल हिंडेर पोखरा पुगेका गजेन्द्र त्यहाँ साइकल किनेर पाँच दिनमा घर पुगे ।
१ वैशाख २०६३ को दिउँसो बेलडाँगी बजारमा सशस्त्र प्रहरीका घुमुवा जवानमाथि माओवादीले चलाएकोमध्ये एउटा गोली घरको टाँडमा बसेकी रेनुकालाई लागेको थियो । घुमुवाको ज्यान गयो भने एक जना भूटानी शरणार्थी नरबहादुर मगर गोली बोकेर बाँचेका छन् ।
गजेन्द्रले पाँच लाखमा घरघडेरी बेचेर १४ महीना उपचार गर्दा पनि रेनुकालाई २० असार २०६४ सम्म मात्र बचाउन सके । “श्रीमती बितिन्, म पनि सुकुम्बासी भएँ” गजेन्द्र भन्छन्, “उनलाई किन गोली हानियो, मैले थाहा पाउनुपर्छ । अर्काको बिजाइँ नगरी घरमा बसेको मान्छे मार्नेलाई किन माफी दिनुपर्ने ?”
बाबुको ४५ दिने काम सकेर झपाको गौरादहस्थित घर आएकी मात्र थिइन्, गीता खड्का (४७) का पति कृष्णको गोलीले भ्वाङ पारेको शव ९ मंसीर २०६१ को बिहान ४ बजे पल्लो टोलको सडकमा भेटियो । उनी अघिल्लो बिहान काठ मील जान्छु भनेर हिंडेका थिए । माओवादीहरूले कृष्णको काठ मील पनि लुटेर रित्तो पारिदिए ।
गीता मानसिक रूपमा विक्षिप्त बन्दै गइन्, छोरो फणिन्द्र र छोरी गंगालाई आफन्तले राखे । २९ चैत २०६१ को साँझ् माओवादीको अर्काे जत्थाले कञ्चटमा बन्दूक ताक्दै गीतालाई बाहिर निकालेर घरमा पनि ताल्चा लगाइदियो । तोपगाछी–१ स्थित ससुरा नरबहादुरको घरमा पनि उनीहरूले त्यही दिन ताल्चा लगाएका थिए ।
खड्का परिवार आफन्तहरूकोमा शरण माग्दै बसे । “मैले ६ महीनासम्म मनोविक्षिप्तता रोक्ने औषधि खानुपर्‍यो” गीता भन्छिन्, “आफ्नो परिवार पालेर बसेको मान्छे किन मारेका हुन्, भन्नुपर्छ; तिनले माफी होइन म जस्ता विधवाले न्याय पाउनुपर्छ ।”
६ मंसीर २०६१ को साँझ् गौरादहमा सेनाले अखिल क्रान्तिकारीका झपा अध्यक्ष रमेश सुवेदी र उपाध्यक्ष विष्णु प्रधानलाई गोली हानेर मारेको थियो, जसमा सुराकी गरेको आरोप माओवादीले खड्का परिवारमाथि लगायो । तोपगाछी–९ की देवीमाया सुवेदी (५१) ले साँझ् बारम्बार फोन आएपछि खाना खाएर घरबाट निस्किएको जेठो छोरा रमेश मारिएको खबर भोलिपल्ट रेडियोमा सुनेकी थिइन् ।
७ मंसीर राति कन्काई घाटमा सुरक्षा घेराबीच रमेश र विष्णुको दाहसंस्कार गरिएको थियो । “हत्यारालाई माफी दिंदा हामीलाई न्याय हुँदैन” देवीमाया भन्छिन्, “निहत्था छोरो मारिएको छ, कारबाही हुनुपर्छ ।”
८ पुस २०६० को अपरान्ह घरबाट निस्कँदा साँझ्मा खाना खान आइपुग्छु भनेको गौरादह–७ का मुन्सी हस्दा (६९) का छोरा विष्णुलाल अझै फर्केका छैनन् । साहूको खेतमा बनाएको पराले छाप्रो १५ वैशाखमा हिमाल संवाददाता पुग्दा अघिल्लो रातको हुरीले उडाएको थियो ।
१६ भदौ २०६२ मा हत्या गरिएकी गौरादह- ५ झापाकी यमुनादेवी खतिवडाका छोरा कृष्णवल्लभ र बुहारी । तस्वीर: गोपाल गडतौला
छोराको तस्वीर सिरानी हालेर सुत्ने मुन्सीकी पत्नी सुनामनी ६ महीनाअघि दमले बितिन् । सेनाले लाश समेत नदिएपछि मुन्सीले छोरो मारिएका ठाउँको माटो कुशमा दलेर किस्ने खोलामा काजकिरिया गरे । बुढ्यौलीले कुप्रिंदै गएका मुन्सी भन्छन्, “बीएसम्म पढेको मेरो निहत्था छोरो मार्नेलाई कानून अनुसार कारबाही भएको देखेर मात्रै मर्ने इच्छा छ ।”
१६ भदौ २०६२ को मध्यान्ह छोराबुहारीलाई खाना दिएर बाटाछेउको फलैंचामा बसेकी गौरादह–५ की यामुनादेवी खतिवडा त्यहाँबाट उठ्नै सकिनन् । वेलावेला गस्तीमा आउने सरकारी सैनिकहरू पनि त्यो फलैंचामा बस्थे । त्यो दिन फलैंचामा पड्केको बमको निशाना भने यामुनादेवी बनिन् । त्यही दिनदेखि थलिएका उनका पति गुरुप्रसाद गत वर्ष बिते ।
मातातीर्थ औंसीको दिन १५ वैशाखमा आमाको श्राद्ध गर्ने तरखरमा रहेका छोरा कृष्णबल्लभ राज्य र माओवादी दुवैतिरबाट भएका जघन्य अपराधलाई सामसुम पार्ने सरकारी तयारीको समाचारबाट आक्रोशित थिए । “मान्छे मार्‍यौ भनेर माफी दिनुपर्ने ?” उनको प्रश्न छ, “हत्याराहरूलाई माफी दिनु भनेको पीडितको पीडामा खिल्ली उडाउनु हो ।”

कसरी भुल्ने नरसंहार ?

Comments

Popular posts from this blog

अथार मगरात (खाम भाषि मगरहरु) क्षेत्रको महत्वपुर्ण चाड नोगोबाङ्गे (भुम्या)

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा