बुढ्यौली रंग : मन बूढो नभएपछि

देविका घर्ती मगर
बाघमारे, दाङ । छेउमा मादल र पैजन बज्न सुरु गरेदेखि नै मैमी वलीको हाँसो फुर्न सुरु गरेको हो । ६५ वर्षिय मैमी छेउमै मादल बज्न सुरु गरेपछि निकै मुस्काउँदै बाजा बजाउनेहरुको अगाडि पछाडि गरिरहनुभएको थियो । बाजा बज्दै गर्दा मैमीको मुजा परेका शरी रका छाला र मुजा परेको अनुहार धेरै पटक हाँस्यो ।
बाघमारे–४ विष्णुपुर निवासी मैमी पुराना लोक कलाकार हुन् । मुसिकोट छिवाङबाट १२ वर्ष पहिले दाङ बाघमारे आउनुभएका मैमीका दुई छोरा, १ छोरी र ८ नातिनातिना छन् । तर, उहाँको गीतसंगीतप्रतिको रंग भने ताजै छ । बैंशमा मेलापात जाँदा गाएको नाचेको अहिले पनि मैमीलाई झझल्को छ । सिंगारु नाच समेत नाच्ने मैमी मादल बज्दै गर्दा आफै गीत गाउन थाल्नुभयो, भने नाच्न पनि थाल्नुभयो ।
‘उइल नाचेको हो । गाएको हो । एैले पनि उत्तिकै रहर लाग्छ नि । के गर्नु ज्यान बूढो भए नि मन बूढो हुने रैन छ’, मैमीले भन्नुभयो, ‘उइल त मैले बनघारी, पैस्यारु, सिँगारु, यानीमाया, ठाडो भाका, साइलादाइ सबै गीत गाउँथे नि । २०५६ वर्षपहिले रुकुमबाटै दाङ आएकी बिर्मी वली (७२) पनि सिँगारु, बनघारी, पैस्यारु, ठाडो भाकाका ज्ञाता नै हुनुहुन्छ । उमेरमा मेलापात गएका बेला गाएका यी गीतहरु अहिले पनि कण्ठ भएको बिर्मीले बताउनुभयो ।
गाउँमा कुनै नाचगान, बिबाह, भोज भएमा अहिलेपनि मनकुमारी खड्का त्यतातिर लागिहाल्नुहुन्छ । बैंशमा नाच्ने, गाउने गरेका कारण अहिले पनि रहर लाग्ने गरेको मनकुमारीले बताउनुभयो । ५ छोराछोरी, नातिनातिनी र पनातिपनातिनी गरी ७ जना रहेका मनकुमारीको उमेर अहिले ७० वर्षको छ । तर, कतै नाचगान भएमा आफ्नो मन पनि त्यतातिर तानिने गरेको उहाँले बताउनुभयो । ‘यहाँ गाउँमा पनि नाचगान भइरहन्छ । हाम्रै पालाका गीत पनि गाउँछन् । नाच्ने पनि गर्छन् । त्यही भएर हामीलाई पनि रमाइलो लाग्छ । अनि नाच हेर्न जान्छांै’, मनकुमारीले भन्नुभयो ।
बुढ्यौंलीका कारण नाच्न नसकेपनि हेर्न भनि जाने गरेको उहाँले बताउनुभयो । पश्चिम दाङको बाघमारे र शान्तिनगर, धनौरी क्षेत्रमा रुकुमबाट बसाई सरेर आएकाहरुको बाहुल्यता छ । रुकुमबाट बसाई सरेर आए पनि उनीहरुले अहिलेसम्म पनि आफ्नो क्षेत्रको संस्कृति छाडेका छैनन् । गाउँमा आफ्नो क्षेत्रको जस्तै पुराना नाच गीतहरु बिबाह, भोजजस्ता अवसरमा गाउने नाच्ने गरेको २३ वर्षिय कमल विष्टले बताउनुभयो । कमलका बाजे रुकुमबाट दाङ आउनुभएको हो । तर, गाउँमा सबैजनाले रुकुममा मानिने सबै नाचगानहरु बचाई राखेका कारण आफूले पनि सिकेको उहाँले बताउनुभयो ।

Comments

Popular posts from this blog

अथार मगरात (खाम भाषि मगरहरु) क्षेत्रको महत्वपुर्ण चाड नोगोबाङ्गे (भुम्या)

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा