राष्ट्रिय गानका सर्जक ‘ब्याकुल माइला’ सँग एकछिन

देविका घर्ती मगर
हामी सबैले गर्व गर्ने नाम ब्याकुल माइला । देशकै माइला । अर्थात् प्रदिपकुमार राई । वास्तविक नाम प्रदिपकुमार राई भएपनि हाम्रा राष्ट्रका गौरव राष्ट्र गानका सर्जक ।
२०६२÷०६३ को जनआन्दोलन र १० वर्षे सशस्त्र युद्धपछिको साझा उपलब्धी हामी नेपालीको राष्ट्रगानका सर्जक ब्याकुल माइलासँग घोराहीमा भेट गर्ने अवसर मिल्यो । ओखलढुङ्गा हिलेपानी निवासी ब्याकुल माइला राष्ट्रगानका रचयिता राष्ट्रका गौरव हुनुहुन्छ । स्कुले अवस्थाबाट नै साहित्यमा कलम चलाउँदै आउनुभएका ब्याकुल माइलाको साहित्यिक यात्रा भने २०४७ सालमा अध्ययनको सिलसिलामा काठमाडाँैं प्रवेश गरेपछि सुरु भएको हो । सुरुमा कविताबाट साहित्य यात्राको थालनी गर्नुभएका माइलाले गजल, गीतमा कलम चलाउँदै आउनुभएको छ ।
‘२०६२÷०६३ को आन्दोलनपछि राष्ट्र गानका लागि नेपाल सरकारले राष्ट्रिय गान कार्यदल गठन ग¥यो । राष्ट्रगानका निमित्त गठित कार्यदलले राष्ट्रगान लेखनका निमित्त सार्वजनिक सूचना प्रकाशित गरेको थियो । कार्यदलले राष्ट्रगानमा समेटिनुपर्ने विषयवस्तु तोकेर बढीमा ८ हरफ र ५० शब्दको हुनुपर्ने भन्ने निर्धारण गरेको थियो’, सर्जक ब्याकुल माइला राष्ट्रगानको रचनागर्भको बारेमा यसरी व्याख्या गर्नुहुन्छ, ‘कार्यदलले तोकेको पहिलो समयसिमाभित्र निकै प्रयास गर्दापनि मैले गीत लेख्न सकिनँ र समय समियो । पछि कार्यदलले १५ दिनका निमित्त भनेर समय थप ग¥यो । त्यही अवधीमा मैले हाम्रो यो राष्ट्रगान लेखेँ ।’
‘कार्यदलले तोकेको विषयवस्तु, धेरै कुराहरु समेट्नुपर्ने र त्यसका आफ्नै मापदण्ड भएका कारण राष्ट्रगान तयार पार्न निकै दिमाग लगाउनुपर्ने थियो । त्यसमा अझ लयका कुराहरु पनि थिए’, उहाँले भन्नुभयो,‘राष्ट्रगान लेखनका निमित्त सहभागी १ हजार २ सय ७२ जनामध्येबाट ब्याकुल माइलाको गीत राष्ट्रियगानका रुपमा छनौट भएको हो । राष्ट्रगानका सर्जक माइला अहिलेको राजनीतिक परिवेश राष्ट्रगानको भाव विपरित गइरहेको भन्दै त्यसप्रति चिन्ता ब्यक्त गर्नुहुन्छ । तर, अहिले संक्रमणकालीन अवस्था भएकाले विस्तारै समस्या समाधान हुनेमा भने उहाँ आशावादी देखिनुहुन्छ । ‘अहिलेको राजनीतिक पस्थिति राष्ट्रगानमा समेटिएका भावभन्दा निकै पर गएको छ । यो ठाउँमा आउन समय लाग्छ । तर, यो पनि परिस्थिति अनुसार अगाडि बढ्ने कुरा हो । त्यो पक्कै पनि परिस्थिति अनुसार अवस्य पनि सही ठाउँमा आउनेछ ।’
सार्वभौमिकता, राष्ट्रिय अखण्डता महत्वपूर्ण कुरा भएको भन्दै सर्जक माइलाले मुलुक रहेमा, नेपाल रहेमा मात्र नेपालीहरुको अस्तित्व रहने बताउनुहुन्छ । गीत, गजल, कविता बाहेक भाषा, संस्कृतिसम्बन्धी अनुसन्धानमुलक लेख समेत लेख्ने ब्याकुल माइला पेशाले भने अधिवक्ता हुनुहुन्छ । १०० बढी रचनाका सर्जक ब्याकुल माइला राष्ट्रगान लेखिसकेपछि सार्वजनिक ब्यक्तित्व धान्न धौ–धौ भइरहेको बताउनुभयो । सुगम संगीततर्फको गीती एल्वम ‘उत्साह’ गजल गीतीसंग्रह ‘छालभित्रका प्रतिबिम्ब’, देशभक्ति गीतहरुको संग्रह ‘खोजी हेर देशको माटो’, आधुनिक गीती संग्रह ‘डोबहरु’ लगायतका संग्रहका सर्जक माइलाले नेपाली गीत संग्रह (सम्पादन) समेत गर्नुभएको छ । अहिलेसम्म रचना भएका सिर्जनामध्ये ४० बढी रचना रेकर्ड भएको उहाँले बताउनुभयो ।

Comments

Popular posts from this blog

अथार मगरात (खाम भाषि मगरहरु) क्षेत्रको महत्वपुर्ण चाड नोगोबाङ्गे (भुम्या)

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा