Skip to main content

मेनका ! के तिमी साँच्चिकै हामीमाझ छैनौ ?

देविका घर्तीमगर
जीवनका धेरै त्यस्ता सत्यहरु छन्, जो हामीलाई स्विकार गर्न गाह्रो हुन्छ । हाम्रो मनले स्विकार नगर्दा पनि ती सत्य आखिर सत्य नै हुन्छन् । किनकि यथार्थबाट हामी भाग्न सक्दैनौं ।
यस्ता कुराहरु म धेरैलाई सम्झाउँदै आएँ । लामो समय भएछ ती पीडितहरुसँग कुनै न कुनै रुपमा गाँसिदै र उनीहरुलाई सम्झाउँदै आएको । अक्षर खेतीसँग जोडिएका कारण पीडामा परेका, विपद्मा परेका, दुःखमा परेकासँग कुनै न कुनै रुपमा जोडिइरहें । तर त्यही पीडा आफैलाई पर्दाको अनुभूति भने पहिलो पटक गर्दैछु ।

गएको साउन २४ गते । प्रेस चौतारी नेपालको केन्द्रीय सचिवालयको पूर्व निर्धारित बैठक बसेर बेलुकी साथीहरुसँग डेरा फर्किएँ । मितिनी (टिका) र केही साथीहरुसहित हामी त्यसदिन कुनै विषयमा छलफलका लागि जम्मा हुने सल्लाह थियो । हामी मेरो डेरामा आयौं । खाना सँगै खाएर बेलुकी आ–आफ्नो घर फर्किने सल्लाह भयो । कुरा लम्बिदै गयो, रात पनि छिप्पिदै थियो । अनायासै मध्यरातमा घरबाट मिना दिदीको फोन आयो । रातमा कहिले फोन नगर्ने दिदीको फोन आएपछि मनमा अनायासै आशंकाले डिण्डोरा पिट्न थाल्यो ।
‘अन्टी कहाँ हुनुहुन्छ ?’ दिदीले गरेको पहिलो प्रश्नले नै मलाई झस्काइदियो । किनकि २ घण्टा पहिले मात्र मैले मम्मीसँग कुरा गरेको थिएँ । ममी राम्रै हुनुहुन्थ्यो र राम्रै कुराकानी भएको थियो । ‘घर मै हुनुहुन्छ किन के भयो र मेरो मम्मीलाई ?’ भनेर भने । दिदी के ही बोलिनन् । भनिन्– ‘हे र अन्टीको ख्याल गरेस् । मेनका बिरामी छिरे छिटो चितवन जानुप¥यो ।’
रातको ११ बजे चितवन जानुप¥यो भन्दा मनमा डर र आशंका नबढ्ने कुनै थिएन । जो म यहाँ बयान गर्न सक्दिनँ । २ दिन पहिले मात्र कुराकानी भएकी बहिनी बिरामी त्यो पनि सिरियस भन्दा मलाई पत्यार लागेन । दिदीसँग के कुरा हो भन्नुस् भनेर रोइकराइ गरें । आँशुका धारा बग्न थालेपछि करिब १५ मिनेटपछि बल्ल दिदीले भनिन्– ‘हेर मेनका त छैनी रे । छिटो चितवन जानुप¥यो अन्टीलाई लगेर । त पनि चितवन आइज । अन्टीलाई केही नभनिदे ऊ बिरामी छ भने र लै जानुप¥यो ।’
यी शब्दहरु दिदीले भनिर हँदा मेरा हातखुट्टा लल्याकलुलुक भए । फोन राम्ररी सुनियोस् भनेर झ्यालमा झुण्डिएकी म कसरी भुइँमा पछारिएँ पत्तै छैन । किनकि त्यो मेरो मात्र होइन, कसैको पनि कल्पना बाहिरको कुरा थियो ।
सामान्यतः दुःख बिरामी भएपछि वा दिन उमेर पुगेपछि, कुनै दुर्घटनामा परेपछि मृत्यु हुन्छ भन्ने हाम्रो बुझाइ छ । मेरी बहिनी (मेनका)को मृत्युको खबर मेरो कल्पना भन्दा बाहिरको कुरा थियो । चितवनमा रहेकी कान्छी बज्यैसँग सम्पर्क भएपछि बहिनीको मृत्यु भएको भन्ने कन्फर्म भयो । त्यसपछि घरमा फोन सम्पर्क गरेर मम्मीको अवस्था नबिग्रियोस् भनेर ध्यान दिन थालें ।
बहिनी बिरामी नै छिन् भनेर चितवन लैजान चाहन्थें मम्मीलाई । तर कसैगरी मम्मीले सुनिहाल्नुभएछ । मम्मी मुर्छित भएको खबर केहीबेरमा पाइहालें । नहोस् पनि कसरी । घरमा मम्मीसँग कान्छी बहिनी शशी र भाई विशाल मात्र थिए । मलाई मम्मीलाई केही नहोस् भन्ने चिन्ता थियो । गाउँबाट फुपू, दिदीहरुलाई घोराही जान भनें । संयोगवश सानो मामा (अमृत) पनि घरमै हुनुहुदो रहेछ । मामाघर र घरतिरका सबै घरमा भेला भएको खबर पाएपछि एकखाले मन ढुक्क भयो ।
बुवा विदेशमा हुनुहुन्थ्यो । म काठमाडौंमा थिएँ । बुवालाई खबर दिइएको थिएन । म यति टाढाबाट जान सम्भव थिएन । मसँग कोठामा भएका साथीहरुले मलाई सम्हाले । राती नै कलंकी गएर चितवन बहिनीकहाँ पुग्छु भन्ने लाग्यो । तर यातायातका कारण सम्भव थिएन । साथमा पैसा पनि थिएन । रातभर घरतिर, मामाघर, नजिकका साथीसँग फोनमा कुरा गरिरहें ।
बिहानै गाडीमा जाने भन्ने सल्लाह पनि भयो । तर मुग्लीन–नारायणगढ सडकखण्ड बन्द भइरहने हुनाले प्लेनमा जाने भन्ने भयो । प्लेन टिकट कति लाग्छ ? कति बजे जान्छ । टिकट पाइने हो कि होइन केही थाहा थिएन । उज्यालो हुन अझै ७ घण्टा बाँकी थियो । मोबाइल, चार्जर, एक जो र कपडा हालेर राति नै झो ला रेडी गरिसकेको थिएँ । ती ७ घण्टा कसरी बिताएँ ? म शब्दमा बयान गर्न सक्दिनँ । त्यो कस्तो खालको पीडा थियो ? त्यो पनि भन्न सक्दिनँ ।
यै हातले खेलाएर, हुर्काएर, पढाएर जवान भएकी एउटी बहिनी गुमाएकी थिएँ । जो कसैको पनि कल्पना बाहिरको कुरा थियो । न त आँसु नै कन्ट्रोल हुन्थे, न त छटपटी नै ।
म भन्दा ३ वर्षले कान्छी थिइन् मेनका । १९ वर्षको उमेरमै नवलपरासीको गैंडाकोटमा बिहे गरेकी थिइन् उनले । आउँदो माघ १५ गते २५ वर्ष पुग्दै गरेकी मेरी बहिनी यो संसारमा छैनन् ।
अहो ! यस्तो पनि कहीँ हुन सक्छ ? दुई दिन पहिले त कुराकानी भएको थियो मेरो । अफिस गएर आए अनि खाना बनाएर पनि खाइसक्यौं दिदी भन्दै थिइन् ।
सधैं फोन गरेर भन्थिन्– ‘के हो हे दिदी फोन पनि नगर्ने ? हाम्रो माया लाग्दैन के हो ?’ म भने किन नलाग्नु नानी । हेर न म सधैं यस्तै व्यस्त भनेर भन्थें ।
सधैं बाहिर हिडिरहने भएकाले परिवारसँग मन लाग्दै कुरा गर्न कहिले पाइनँ मैले । अथवा मेरो केयरलेस पनि हुन सक्छ । यस्तै गुनासो गर्थिन् उनी । तर आफ्नी ठूल्दिदीलाई फोन गरिरहन्थिन् ।
न बिरामी, न कुनै रो ग । न कुनै दुर्घटना । कसरी मृत्यु हुन सक्छ मेरी माइलाको । यस्ता कयौं प्रश्नहरुले यसरी घेरे रातीको ७ घण्टा निदाउनु त परै जावस् आँखा चिम्लन पनि सकिनँ । त्यो रातसँग यदि भेट हुन सकिने भए, कुरा गर्न सकिने भए, आजको रात छोटो बनाइदेऊ भनेर बिन्ती बिसाउँथें होला ।
तर अहँ ! त्यो सम्भव थिएन ।
भोलिपल्ट, २५ साउन । बिहानै उठेर चितवनमा भएका पत्रकार साथीहरुसँग फोन सम्पर्क गरें । प्रेस चौ तारीका केन्द्रीय सदस्य शालिग्राम नेपाल जीले बुद्ध एयरको चितवनका कर्मचारीको फोन नम्बर दिनुभयो । ती कर्मचारीले तुरुन्तै एयरपोर्ट जान भने ।
साढे ६ बजे नै एयरपोर्ट लागें । ८ बजेको टिकट छ भनेका थिए तर संयोगले ७ः१५ कै प्लेन पाइयो । करिब साढे ७ बजे भरतपुर चितवन ओर्लेर पत्रकार केबी रानालगायतका साथीहरुलाई भेटी बहिनीको कसरी मृत्यु भयो भनेर खोज्न थालें । २४ गते आफ्नो आमाजु बिरामी भएकाले उपचार गराउन ज्वाई भोजसहित भरतपुरस्थित सरकारी अस्पतालमा आएकी थिइन् मेनका । दिनभर अफिसमा काम गरेकी बहिनीको खाना खाने क्रममा अचानक मुटुको धड्कन बन्द भएर करिब आधा घण्टाको बीचमा मृत्यु भयो ।
सुन्दा पनि कथाझैं लाग्ने, यो हाम्रो जीवनको यथार्थ हो । डाक्टरी रिपोर्ट, स्वास्थ्य पत्रकार, मुटुरोग विशेषज्ञसँग भेटेर बहिनीको मृत्युको कारण जानकारी लिएँ । डाक्टरले बहिनीको मृत्युको कारण भने – ‘ईमजेन्सी कार्डियो फेलियर ।’
किनकि त्यतिञ्जेल हामी बहिनीको मृत्यु कसरी भयो ? भन्ने विषयमा अन्यौलमा थियौं । घरको जेठो सन्तान भएको र बुवा पनि विदेशमा भएकाले सबै जानकारी लिनु मेरो कर्तव्य नै थियो । मैले त्यसै गरें ।
राती २ बजे नै २ वटा गाडी रिजर्भ गरेर आमा, मामालगायत मेरो परिवार दाङबाट हिडिसकेको थियो । उहाँहरु बहिनीको घर ढोडेनी पुगिसकेको खबर आइसकेको थियो । म पनि डाक्टरहरुसँग भेट गरेपछि बहिनीको घरतिर लागें । त्यहाँ अरु सबै जम्मा भइसकेका थिए । म ढिला भएका कारण मलाई पर्खिरहेको फोन तारन्तार आइरह्यो । के बीजी, सहज भाइ मसँग साथमा थिए । चितवनमा जम्मा भएका पत्रकार साथीहरुलाई भरतपुरमै छाडेर म ढोडेनीतिर लागें ।
भर्खरै बहिनी ज्वाईले बनाएको नयाँ घरमा भीड थियो । गाडीहरु उस्तै । म कसैलाई नहेरी सिधै मम्मीलाई खोज्दै गएँ । शारीरिक रुपमा अलिक कमजोर नै हुनुहुन्छ मम्मी । फेरि अनेक व्यवहारिक चिन्ताले थलिएकी मेरी मम्मीलाई छोरीको शोकले अझ थला नपारोस् यही चाहना थियो हामी सबैको ।
त्यसैले सबै भन्दा पहिले मम्मीकहाँ पुगें । म पुगेपछि म आफूलाई सम्हाल्न सकिनँ । झनै रुवाबासी हुन थाल्यो । काठमाडौंबाट भरतपुर र भरतपुरबाट ढोडेनी पुग्दासम्म पनि मनमा यो घटना केवल कल्पना मात्र होस्, कसैगरी सत्य नभइदिओस् । म काठमाडौंबाट चितवन आउनु र दाङबाट मम्मीहरु आउनु पनि केवल मैले देखेको सपनामा सीमित होस्, मनले यही भनिरह्यो ।
कतिबेला त लाग्यो बहिनीलाई लै जानुभन्दा बरु मलाई लगेको भए हुन्थ्यो नि काल । किनकि मैले त अझैसम्म एकल जीवन बिताइरहेको छु । मेरो श्रीमान छैन, घर व्यवहार छैन । यस्तै अनेक कुाहरु मनमा आइरहे ।
तर यथार्थ कसले टाल्न सक्छ र ? बहिनीको मृत्युले सबैको आँखामा साउन बगेको थियो । ढिला भइसकेकाले बहिनीलाई घाट लैजान मलामीहरु हतारमा थिए ।
बहिनीलाई हेर्छु भने पछि मलाई दिदी, फुपूहरुले बहिनी सुताएको ठाउँमा लग्नुभयो । कुनै दिदीले कल्पना गरेको हुँदैन होला, कुनै दिन आफ्नै बहिनीको मूर्दा यसरी हेर्नुपर्छ भनेर । अझ आमा, बुवाको त झन के कुरा गर्नु र ! तर मेरो अगाडि मेरी बहिनीको मूर्दा लडिरहेको थियो – पहेंलो कात्रोले ढाकिएर ।
उउठे र आइदिए पनि हुन्थ्यो, दिदी भन्दिए पनि हुन्थ्यो नि । म मरेको छैन दिदी भने कति खुसी हुन्थें होला । तर मेरो माइला मेनकाले आफ्नी ठूल्दिदीलाई बोलाइँनन् । उनी त केवल निर्जीव भइसकेकी थिइन् । बहिनीको मूर्दा वरिपरी बसेकाहरुले मेनकाको अनुहार देखाइदिए । म उनलाई हेर्न सकिनँ । किनकि उनलाई हेर्दा न कतै चोट थियो न कतै रगत नै बगेको थियो । दिदी भनेर बोलाउलान्झैं । बेस्सरी अनिदो परेर सुतिरहेझैं थिइन् । मुख मात्र खोलिएको थियो ।
बहिनी मेनका ।
उनलाई हेरेपछि आफुलाई सम्हान सकिनँ । सबैले मलाई तान्न थाले । बहिनीलाई अन्तिम पटक छुन देऊ, टीका लगाइदिन देऊ भनेपछि ती मान्छेहरुले मलाई अलिक खुकुलो गरी समाए । छेउमै भएको रातो टीका लगाएर पानी खुवाएर उनलाई बिदा गरें । अंगालो मारेर एकछिन बेस्सरी भक्कानिन मन थियो । तर मलामीहरुले ढिला भयो भनेर मलाई मेरी बहिनीलाई समाउनै दिएनन् ।
कान्छी बहिनी शशीले पनि दिदीको मुहार हेरि न् । तर मम्मी र बावुले भने मुखै समेत हेर्न सकेनन् । श्रीमतीबाट बिछो डिएका ज्वाईको अवस्थाको बर्णन गर्न सक्दिनँ ।
मेनका ! के तिमी साँच्चिकै हामीमाझ छै नौ ?
साँच्चिकै यी सबै कुरा कल्पना भइदिए... ? अहिले पनि यस्तै लाग्छ । ती के वल हामीले किताबमा पढेका कथाहरु भइदियून् ।
तर , हामीले सोचेर हुनेवाला के नै छ र !
मान्छे भएपछि एकदिन मर्नु त छँदैछ । सबैले यस्त भन्छन् । म पनि यही नै भन्छु । तर अरुलाई पर्दा सहानुभूति, ढाडस दिन जति सजिलो छ आफूलाई पर्दा त्यै कुरा स्विकार्न निकै पीडादायी हुने रहेछ ।
म ठूलो भएदेखि नै परिवारमा मृत्युको सामना गर्नुपरेको थिएन । घर र मामाघरको हजुर बा बित्दा सानै थिए । अरु आफन्ती बित्दा उमेर पुगेकाले होला बहिनी गुमाउँदा जस्तो पीडा महसुस गरिनँ ।
बहिनीको मृत्युको शोकमा रहेको मलाई ढाडस दिन धेरै साथीहरुले फोन गर्नुभयो । सामाजिक सञ्जालमा उस्तै समवेदना व्यक्त भए । घरमा पनि थुपै्र साथीहरु आउनुभयो । तर मैले मेरो आफन्त गुमाएँ भन्ने शब्द मनबाट निकाल्न निकै पिडादायी हुने रहेछ ।
केहीदिन फेसबुकभरी बहिनीका तस्बिरहरु छरपस्ट भए । ती सबै साथीहरुले हामीप्रति गरेको समवेदना थियो । केही समय पहिले तिमी र ज्वाई काठमाडौं आएको बेला पशुपति र स्वयम्भु घुम्न जाँदा खिचेका फोटोहरु यत्रतत्र जस्तै भए ।
फोटो हेर्दा र तिमीलाई गुमायौं भन्ने कुरा मनमा आउँदा अचेल म तिम्रो तस्विर समेत राम्रोसँग हेर्न सक्दिनँ । मेनका मेरो बहिनी मात्र थिइनन् । उनी मेरो एकखाले जोडी नै थिइन् । हामी दिदीबहिनी सँगै हुर्कियौं । ४ भाइबहिनीमध्ये स्वभावमा पनि अलिक फरक थिइन् उनी । कुनै कुरा चाहिदा वा आफूलाई अप्ठ्यारो हुँदा पनि सकभर गुनासो नगर्ने, कुरा नखोल्ने बानी थियो उनको । मामाहरुले सन्तोकी भाञ्जी भन्नुहुन्थ्यो उनलाई । सबैले माया पनि गर्नुहुन्थ्यो ।
साना २ भाइबहिनी अलिक पछि जन्मिएका हुन् । त्यसैले जीवनमा जति कुरा भोग्यौं हामी दिदीबहिनीले बराबरी भोगेका छौं । सानो छँदा परिवारमा दुःख थियो । मम्मीले निकै दुःख गरेर हुर्काउनुभएको हो हामीलाई । मम्मीले जीवनमा हाम्रा कारण जति दुःख गर्नुभएको छ, ती सबै कुराको साक्षी थियौं हामी ।
तर विगतमा भन्दा हाम्रो जीवन अहिले केही सहज भएको थियो । मेनकाले बिहे गरेर घरजम बसाएकी थिइन् । स्नातक लगभग पूरा भएको थियो उनको । ज्वाई पनि राम्रो हुनुहुन्थ्यो – मेहनती, पढेलेखेको ।
म १० वर्ष दाङमा पत्रकारिता गरेर गएको जेठमा मात्र राजधानी छिरेको थिएँ । म राजधानी छिर्नु । तिमी यो दुनियाँबाटै बिदा हुनु । यस्तो किन मेनका ?
आफ्नो करिअर र परिवारका लागि केही थान सपना बोकेर राजधानी छिरेकी थिएँ म । तर ती सपनाले टुसा उमार्न नपाउँदै परिवारमा बज्रपात प¥यो । तिमीले छाडेर गयौं । लाग्छ– सबै भताभुङ्ग भयो । काठमाडौं आइसकें त्यसकारण फर्केर घोराही जान पनि सक्दिनँ । तिमी गएपछि मम्मीको हालत कस्तो छ म तिमीलाई कसरी भनूँ ? भने पनि तिमीले सुन्छ्यौ या सुन्दिनौ ? म कसरी महसुस गरुँ ? मनभरि पीडाबाहेक केही छैन । मम्मीको अवस्था कसरी सुधार गरुँ ? यै कुरा मात्र मनमा छ । अरु सबै कुरा गौण लाग्न थालेका छन् आजभोलि ।
तिम्रो बिदाइपछि दशैंमा घर गएँ । आमाको हालत झन–झन खराब बन्दै गएझैं लाग्न थालेको छ । म घर गएको दिन ५ दिनको खाना खानुभयो रे मम्मीले । मलाई देख्दा पनि रुनुहुन्छ । चाडपर्व आउँदा पनि रुनुहुन्छ । म कसरी सम्झाउँ उहाँलाई ?
म तिम्रो अभाव त पूरा गर्न सक्दिनँ । तर कम्तिमा मम्मीलाई त ढाडस दिलाउन सक्छु होला भन्छु तर अहँ ! अहिले सम्म सकिनँ ।
म त अझ घर बाहिर भएकाले धेरै कुरा देख्दिनँ पनि । कान्छी बहिनी जो घरमा छिन्, उनले मम्मीका सबै पीडा नजिकबाट महसुस गरेकी छिन् । मलाई फोन गरेर दिदी केही गर्न सकिन्छ ? भन्छिन् । म नाजवाफ हुन्छु । म के भनेर सम्झाउँ उनीहरुलाई ? न म तिमी बन्न सक्छु । न त केही उपाय नै गर्न ।
तिमीले हामीलाई देख्छौ या देख्दैनौ थाहा छैन । तर तिमी कहीँ कतै हाम्रै वरिपरी हामीलाई हेरिरहेकी छौ कि भन्ने भान हुन्छ । यदि तिमी हामीलाई महसुस गर्न सक्छौ भने मेनका हाम्री मम्मीलाई तिमी बिना पनि बाँच्न सक्ने शक्ति देऊ । भौतिक रुपमा तिम्रो अभावको पीडा त हामी कहिल्यै मेटाउन सक्दैनौ ं । यसो भनेर हामी तिमीसँगै पनि आउन सक्दैनौं ।
छोराछोरी गुमाउँदाको पीडा एउटी आमाले मात्र महसुस गर्न सक्छिन् रे । कुनै मान्छेका लागि सबै भन्दा ठूलो पीडा छोराछोरी गुमाउनुभन्दा अरु हुन सक्दैन रे । यस्तै सुन्दै आएको छु ।
अहिलेका लागि मेरो कुनै स्वार्थ छैन । म हाम्री आमा हिम्मतिलो भएर तिमीलाई सधैं आशिर्वाद दिएको हेर्न चाहन्छु । मेनका तिमी जहाँ भएपनि, जस्तो भए पनि हाम्रो आशिर्वाद सधैं तिमीलाई हुनेछ । तिमी खुसी रहनू ।
तिम्रो ठूल्दिदी ।

Comments

Popular posts from this blog

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा

नेपालिसमाजमामहिलाहरुमाथिहुनेघरेलुिहंसामादाईजोरतिलकप्रथालेक्रमशःभयावहरुपलिनथालेकोछ।सामन्तवादीपित्रृसतात्मकसमाजकोकुप्रथाकोरुपमारहेकोदाईजोरतिलकप्रथासमाजकोविकाससंगैघट्नुकोवदलावृद्विहुदैगैरहेको।सामाजिकरुपमाएकप्रकारकोहोडरछोराकोविवाहलाईघनकमाउनेमाध्यमकोरुपमाप्रयोगगर्नचाहनेस्वार्थीमानसिकतालेनैअहिलेयोप्रथादिनप्रतिदिनअझभयावहरविकृतवनेरदेखापरेकोछ।
दाईजोप्रथाकोस्ाुरुवातकहिलेरकहाँवाटशुरुभयोभन्नेकुरायकिनगरेरभन्नतसकिन्न।तरथुर्पैवुद्विजिविहरुलेदाइजोकोप्रचलनप्राचिनकालिनआर्यवर्तकोसामाजिकव्यवस्थामारहेकोउदाहरणप्रस्तुतगरेकाछन्।स्वस्थानीव्रतकथामागोमाव्राम्हणीलाईउनकाआमाबुवालेप्रसस्तधनसम्पत्ािसुनचाँदिगाईघोडाहातिदानदिईएकोरमहाभारतकथामापनिवेहुलिलेदाइजोकोरुपमासुनचाँदिगाईघोडाआदि

सडकमा आगो बाल्दैछ एमाले तर चुपचाप छन् ओली

देविका घर्तीमगर
काठमाडौं : मंसिर १४ गते राति संविधान संशोधन विधेयक दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र संसदबाट आन्दोलन गर्दै आएको छ।  संशोधन प्रस्ताव दर्ता भएको दोस्रो दिन मंसिर १५ गते बसेको एमाले संसदीय दलको बैठक र १६ गते बसेको सचिवालय बैठकले सडक र सदनबाट आन्दोलन गर्ने निर्णय गरेको थियो। संविधान संशोधन विधेयक दर्ता हुनअघि अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका प्रमुख नेताहरुले औचित्यबिना संविधान संशोधन गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए।