Skip to main content

पार्टीले खोजिदिएको केटासँग चुपचाप विहे गरेँ : थममाया थापा मगर

देविका घर्तीमगर
नेकपा एमालेका नेता थममाया थापा मगर, ५८ एमाले केन्द्रीय राजनीतिमा पुगेका सीमित महिला राजनीतिकर्मीमध्ये एक हुन्। म्याग्दीको दुर्गम गाउँ चिमखोलामा जन्मिएर कम्युनिस्ट राजनीति सुरु गरेकी थममाया पोलिटब्युरो सदस्य तथा अखिल नेपाल महिला संघकी महासचिव हुन्। 
पञ्‍चायतकालमा भूमिगत राजनीति गरेकी थममायाले राजकाज मुद्दा लगायतका थुप्रै कष्ट व्यहोरिन्। जे सपना देखेर राजनीतिमा होमिइन् अहिलेसम्म त्यो पूरा नभएकोमा उनी दुखी छन्।
कतिपय विषय संविधानमा समेटिए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।
शिक्षक भएको हेर्न चाहनुहुन्थ्यो बुबा
थममायाका बाबु भारतीय सेनाका जमदार थिए। जागिरे जीवनकै क्रममा शिक्षाको महत्व बुझिसकेका उनले उनले अवकाशपछि गाउँमै स्कुल खोलेर शिक्षाको विस्तार गर्ने योजना बनाए। म्याग्दी सदरमुकाम बेनीबाट एक दिन पैदल हिँडेपछि पुगिने चिमखोलामा अहिलेसम्म पनि मोटरबाटो पुगेको छैन। त्यतिबेला त्यहाँ स्कुल खोल्ने योजना सामान्य थिएन। तर थममायाका बाबुले भारतीय क्याम्पबाट सहयोग लिएर गाउँमा सानो छाप्रो बनाएर पढाउन सरु गरे २०११ सालमा।
बाबुले गाउँमा पढाउन थालेको तीन वर्षपछि थममाया जन्मिइन् कान्छी छोरीको रुपमा। उनको बुबाको चाहना भविष्यमा कान्छी छोरीले यही स्कुलमा पढाओस् भन्ने थियो। बाबुको चाहना अनुसार थममाया त्यही स्कुलको शिक्षिका बनिन्, ९ मा पढ्दै गर्दा १४ वर्षकै उमेरमा। 
बुबा बाहेक परिवारमा अरुले पढ्ने मौका पाएका थिएनन्। अझ छोरीलाई पढाउनु त आश्चर्यकै विषय हुन्थ्यो। तर, बाबुको कारण थममायाले पढ्ने मौका पाइन्। 'त्यो भेगमा स्कुल नै थिएन। गाउँमा स्कुल खोलेर बुबा आफैले पढाउन थाल्नुभयो, उनले भनिन्, 'म स्कुल पढ्दै थिएँ, पछि ९ कक्षामा पढ्दापढ्दै पढाउन थालेँ।' 
थममायाले पढाउन सुरु गरेको अर्को वर्ष उनका बुबा मृत्यु भयो। 'त्यो स्कुलमा म शिक्षक भएको हेर्ने चाहना नै बुबाको अन्तिम थियो जस्तो लाग्छ। मैले काम सुरु गरेको अर्को वर्ष बुबा बित्नुभयो।' जागिरबाट अवकाश लिएर फर्केपछि थममायाका बाबुले २७ वर्ष पढाएका थिए। 
गाउँमा शिक्षा मार्फत अन्धविश्वास, कुरिति हटाउनुपर्छ भन्ने आफ्नो बाबुको सोँचबाट प्रभावित भएकी थिइन् थममाया। तर आफ्नो बाबुको अभियानलाई मन नपराउनेहरु पनि भेटिन् उनले। उनीहरुले जहिले पनि आफ्नो बुबाको सामाजिक कार्यको विरोध गरेको देखिन्। त्यहीँबाट उनीमा विद्रोही भावको विकास भयो। 
त्यतिबेला दलबिहीन पञ्चायत शासन थियो। दल खोलेर राजनीति गर्न बन्देज थियो। कम्युनिष्ट र कांग्रेसहरुले लुकिचोरी संगठन गर्ने गर्थे। थममायाले कम्युनिष्ट राजनीति रोजिन्। २०३६ सालमा निर्दल र बहुदलबीच जनमत संग्रहको घोषणा भयो। कम्युनिष्ट राजनीतिमा लागेकी थममायाले बहुदलीय व्यवस्थाको प्रचारमा लागिन्। शिक्षक भएर कम्युनिस्टको प्रचारमा लाग्यो भनेर २०३८ सालमा उनलाई जागिरबाट हटाउने तयारी भएपछि स्काउटको जिल्ला उपप्रमुखमा सरुवा मिलाएर उनी म्याग्दी सदरमुकाम बेनी आइन्।
बेनीबाट वाम राजनीति सुरु
बेनी आएपछि उनको राजनीतिक यात्राले अझै विस्तार भयो। २०४० सालमा तत्कालीन मालेसँग आबद्ध भएर थममायाले राजनीतिक यात्रा अघि बढाइन्। अखिल नेपाल महिला संघको वडा कमिटी र शिक्षक संगठनमा आबद्ध भएर उनले भूमिगत रुपमै राजनीति गर्न थालिन्। 
'त्यो बेला गाउँमा प्रगतिशील युवालाई जिताउनुपर्छ भनेर लागेको भन्दै स्कुलमा पञ्‍चहरुले निकाल्न खोजे। काम गर्ने वातावरण नभएपछि सदरमुकाम सरुवा मिलाएर आएँ', थममायाले भनिन्, 'अनि बेनी आएपछि औपचारिक रुपमा पार्टी राजनीति सुरु गरे‌ं।' 
मगर समुदायको बाहुल्यता भएको म्याग्दीमा लांघाली परिवार (अहिलेको नेपाल मगर संघ) स्थापना भएको थियो। लांघालीको राष्ट्रिय सम्मेलन बेनीमा हुँदा थममाया पनि सहभागी भइन् र जिल्ला सचिव चुनिइन्।
पञ्‍चको विरुद्ध लाग्दा रक्तपात भयो
२०४३ सालमा राष्ट्रिय पञ्‍चायतको निर्वाचन घोषणा भयो। भीमप्रकाश गौचन उम्मेदवार थिए। जनपक्षीय उम्मेदवार पनि उठाउनुपर्छ भनेर थममाया लगायतका प्रगतिशील युवाहरुले हरिप्रसाद पुन मगरलाई उम्मेदवार बनाए। हरिप्रसादको पक्षमा प्रचार प्रसार पनि तिब्र भयो। तर पञ्चायत पक्षधरले हरिप्रसादलाई हराउन उनको घरमा गोलीकाण्ड गराई दुई जनाको हत्या समेत गरियो। 'हरिप्रसादको पक्षमा माहोल बनाएपछि पञ्‍चहरु आत्तिए। त्यसपछि गाउँ, जिल्ला, अञ्चल, केन्द्र सबै शक्ति प्रयोग गरेर दमन गर्न थाले' थममायाले सम्झिइन् ' हरिबहादुरको घरमा गोलीकाण्ड नै गरियो। दुई जनाको मृत्यु भयो। २/३ जनाको आँखामा गोली लागेर अहिले पनि अपांग छन्।' 
वैशाख २९ गते निर्वाचन थियो। भीमप्रकाश गौचनका समर्थकले धम्की दिने, कुटपिट गर्ने र निर्वाचनमा वुथ एजेन्ट बस्न नदिने जस्ता काम गरे। थममाया पनि कुटपिटको शिकार भइन्। 'यतिसम्म ज्यादती कि मान्छेलाई घरमा थुन्ने, बाहिर आउन नदिने, गोली हान्ने, एजेन्ट बस्न नदिने गरे', उनले विगत सम्झिइन्, 'कतिपय साथीहरु कुटाइ खानुभन्दा बरु हाम फालेर मर्छु भनेर ३-४ तलाको घरबाट समेत हामफाले। मलाई पनि आँखामा हिर्काए। शरीरभरि साइकलको च्यानले हिर्काए।' 
निर्वाचनको भोलिपल्ट हरिबहादुरको पक्षमा रहेको पश्चिम म्याग्दीको २० गाविसको मतपेटिका बीच बाटोमै पञ्‍चायतका पक्षधरले जलाए। 'त्यति मात्रै कहाँ हो र दरभान स्कुलका अनेरास्वियुका नेता थिए हिराबहादुर पुनलाई मारेर म्याग्दी खोलामा फालिदिए' थममायाले भनिन्। 
पञ्‍चले जागिर खाइदिए 
२०४३ को निर्वाचनको राष्ट्रिय पञ्चायत चुनावमा थममाया पञ्चायतका उम्मेदवार विरुद्ध खुलेरै लागिन्। त्यही कारणले उनले प्रकाश मावि बेनीको स्थायी जागिरबाट हात धुनुपर्‍यो। 'एक महिना निर्वाचनको प्रचारमा लागें, पञ्‍चहरुको कुटपिटसमेत व्यहोरें', उनले भनिन् 'पञ्‍चको विरुद्धमा लागेको भनेर मलाई स्कुलबाट निकालियो।' बेनी बस्न नसक्ने स्थिति भएपछि उनी पोखरा आएर पृथ्वीनारायण क्याम्पसमा आईएल भर्ना भइन्।
स्ववियु पदाधिकारीलाई राजकाज मुद्दा 
पीएन क्याम्पसमा थममाया अनेरास्ववियुको राजनीतिमा आबद्ध भइन्। २०४३ सालको स्ववियु निर्वाचनमा कोषाध्यक्षमा निर्वाचित भएकी उनी अनेरास्ववियु क्याम्पस कमिटीको अध्यक्ष तथा कास्की जिल्ला कमिटी सदस्य बनिन्। थममायामा विद्रोही स्वभाव र राजनीतिक व्यक्तित्व थियो। त्यसैले उनलाई जहाँ गए पनि नेतृत्वमा गर्ने ठाउँमा रहिन्। 
२०४४ सालमा स्थानीय निकायको निर्वाचनमा पार्टीले प्रभा कोइरालालाई उम्मेदवार बनायो। कोइरालाको प्रचार प्रसारमा लागेको आरोपमा थममायासहित स्ववियुका सबै पदाधिकारीलाई तत्कालीन अञ्‍चलाधीश राधेश्याम भमारोले राजकाज मुद्दा लगाए। 'बहिष्कारवादी समूह, राजा नमान्ने, व्यवस्था नमान्ने, पञ्चायत नमान्ने अभियानमा लागेको भन्दै हामीलाई राजकाज मुद्दा लगाइयो', थममायाले भनिन्, 'जाँच पनि चलिरहेको थियो। अंग्रेजीको जाँच दिन पाइनँ।' 
पार्टीले हेरेको केटासँग विवाह 
भूमिगतकालमा कम्युनिस्ट राजनीति निकै अनुशासित हुन्थ्यो। प्रशासनलाई छलेर भूमिगत रुपमा संगठन बनाउने र पार्टीको प्रचार गर्नुपर्थ्यो, प्रशासनले थाहा पाए मर्ने बाँच्ने ठेगान हुँदैनथ्यो। यस्तो बेलामा पार्टी यस्तो जिम्मेवार अभिभावक हुन्थ्यो कि उसले गरेका निर्णय नेता कार्यकर्ताले विश्वासका साथ शिरोपर गर्थे। 
२०४५ सालमा सिरहाका रेसमान राईसँग थममायाको विवाह पार्टीले नै गराइदियो। 'म क्याम्पस पढ्दै थिएँ, पार्टीले विवाह गर्ने हो कि होइन तपाईंको विचार के छ भनेर प्रस्ताव ल्यायो। पोखरामा हेटौंडा कपडा उद्योगको शाखामा काम गर्ने सिरहाका एकजना मान्छे रहेछन्। पार्टीको कर्मचारी सेक्टरमा काम गर्ने' आफ्नो विवाहबारे थममायाले भनिन् 'अब बाउ-आमा भने पनि सबै पार्टी नै थियो। पार्टीले ल्याएको प्रस्ताव भनेपछि ठीकै होला भनेर मैले विहेका लागि मञ्‍जुरी दिएँ।' 
पार्टीले विवाहका लागि प्रस्ताव ल्याए पनि केटा भने देखेकी थिइनन् उनले। विवाह गर्ने पक्का भएपछि बल्ल पार्टीले नै उनीहरुको भेट गराएको थियो।
 २०४६ सालमा जनआन्दोलन सफल भएपछि २०४७ को वैशाखमा पार्टी जिम्मेवारी लिएर थममाया काखे छोरी च्यापेर म्याग्दी फर्किइन्। पार्टी खुला भएपछि कार्यालय खोलेर गतिविधि गर्न पाउने भएकाले उनले बेनीमा कार्यालय स्थापना गरी कार्यालय सचिव भएर काम गरिन्। 
२०४८ सालको आम निर्वाचनमा थममायालाई पार्टीले म्याग्दी क्षेत्र नम्बर १ को उम्मेदवार बनायो। दुई क्षेत्र रहेको म्याग्दीमा थममायासहित दुवै क्षेत्रमा एमाले विजयी भयो। २०४८ सालमा भएको अनेमसंघको दोस्रो सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थममाया २०५६ सालको राष्ट्रिय सभा निर्वाचनमा समेत निर्वाचित भइन्। 
नेकपा एमालेको छैटौं महाधिवेशनमा केन्द्रीय अनुशासन कमिटीको सदस्य बनेकी थममाया आठौं महाधिवेशमा केन्द्रीय सदस्यमा विजयी भइन्। सोही वर्ष वैकल्पिक पोलिटब्युरो सदस्य भएकी उनी नवौं महाधिवेशनबाट पोलिटब्युरो सदस्यमा चुनिइन्। २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद समेत निर्वाचित भइन्। थममाया २०४८ सालबाट अखिल नेपाल महिला संगठनमा रहेकी उनी अहिले महासचिव छिन्। 
पीएन क्याम्पसको त्यो संघर्ष 
२०४४ सालमा पञ्चायत पक्षधरले स्ववियु सभापति, महासचिव र सचिवलाई अपहरण गरे। उपाध्यक्षलाई पहिल्यै लगिसकेका थिए। बाँकी थिइन् कोषाध्यक्ष थममाया। अपहरण परेकाहरु त्यसै छुट्ने सम्भावना नभएपछि आन्दोलन गर्नुपर्ने भयो। त्यसको नेतृत्व थममायाले गरिन्। 
कलेजबाट खुलेआम अपहरण गरेर लगे पनि प्रहरीले केही गर्नेवाला थिएन। त्यसपछि आन्दोलन सुरु भयो क्याम्पसमा। लगातार १०/१५ दिनसम्म लगातार आन्दोलन गर्दा पनि स्ववियुका पदाधिकारीलाई अपहरणकारीले नछाडेपछि आमरण अनशन बस्ने तयारी भयो। 
'म अनसन बस्छु भनेर तयारी गरेको थिएँ तर, मलाई पार्टीले रोक्यो। तपाईंलाई राजकाज मुद्दा पनि छ। त्यसो हुँदा अनशनस्थलमा नै प्रहरीले पक्राउ गर्छ भनेपछि म अनशन नबसेर स्ववियु सदस्य श्रीनाथ बराल बस्नुभयो', उनले भनिन्, '७/८ दिन आमरण अनशन बसेपछि बल्ल स्ववियु सभापति तुलबहादुर गुरुङ सहितका पदाधिकारीहरुलाई उनीहरुले छाडे।'
हामीले सोचेजस्तो भएन 
हिजोआज थममाया पार्टी राजनीति विगतमा जस्तो नभएकोमा चिन्तित छिन्। हिजो जसरी पार्टी, कार्यकर्ता परिचालित हुन्थे त्यसरी अहिले हुन नसकेकोप्रति उनको गुनासो छ। लामो समय राजनीतिक जीवन बिताउँदा जे सोचेर उनी लागेकी थिइन् त्यो पूरा नभएकोमा उनी दुःखी छिन्। 
'हामी राजनीतिमा लाग्दा फटाहा, दलालको अन्त्य गर्नुपर्छ। समाज परिवर्तन गर्नुपर्छ। सबै समान हुनुपर्छ भनेर लागेका थियौं। तर, लामो राजनीतिक जीवनमा पनि अहिलेसम्म हामीले सोचेको जस्तो हुन सकेको छैन, थममायाले भनिन्, कि जनताका लागि गोली खाने मर्ने हो कि जेल बस्ने हो भनेर हामी घरबाट हिड्थ्यौं।'
संविधान जारी भएपछि संविधानमा जनताका धेरै कुराहरु समेटिए पनि त्यो कार्यान्वयन हुन नसक्दा ती अधिकारहरु सही ढंगले जनताले पाउँदैनन कि भन्‍ने चिन्ता रहेको उनले बताइन्। 

चैत ३, २०७३ मा Read more at: http://thahakhabar.com/news/11917 प्रकाशित ।

Comments

Popular posts from this blog

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा

नेपालिसमाजमामहिलाहरुमाथिहुनेघरेलुिहंसामादाईजोरतिलकप्रथालेक्रमशःभयावहरुपलिनथालेकोछ।सामन्तवादीपित्रृसतात्मकसमाजकोकुप्रथाकोरुपमारहेकोदाईजोरतिलकप्रथासमाजकोविकाससंगैघट्नुकोवदलावृद्विहुदैगैरहेको।सामाजिकरुपमाएकप्रकारकोहोडरछोराकोविवाहलाईघनकमाउनेमाध्यमकोरुपमाप्रयोगगर्नचाहनेस्वार्थीमानसिकतालेनैअहिलेयोप्रथादिनप्रतिदिनअझभयावहरविकृतवनेरदेखापरेकोछ।
दाईजोप्रथाकोस्ाुरुवातकहिलेरकहाँवाटशुरुभयोभन्नेकुरायकिनगरेरभन्नतसकिन्न।तरथुर्पैवुद्विजिविहरुलेदाइजोकोप्रचलनप्राचिनकालिनआर्यवर्तकोसामाजिकव्यवस्थामारहेकोउदाहरणप्रस्तुतगरेकाछन्।स्वस्थानीव्रतकथामागोमाव्राम्हणीलाईउनकाआमाबुवालेप्रसस्तधनसम्पत्ािसुनचाँदिगाईघोडाहातिदानदिईएकोरमहाभारतकथामापनिवेहुलिलेदाइजोकोरुपमासुनचाँदिगाईघोडाआदि

मेनका ! के तिमी साँच्चिकै हामीमाझ छैनौ ?

देविका घर्तीमगर
जीवनका धेरै त्यस्ता सत्यहरु छन्, जो हामीलाई स्विकार गर्न गाह्रो हुन्छ । हाम्रो मनले स्विकार नगर्दा पनि ती सत्य आखिर सत्य नै हुन्छन् । किनकि यथार्थबाट हामी भाग्न सक्दैनौं । यस्ता कुराहरु म धेरैलाई सम्झाउँदै आएँ । लामो समय भएछ ती पीडितहरुसँग कुनै न कुनै रुपमा गाँसिदै र उनीहरुलाई सम्झाउँदै आएको । अक्षर खेतीसँग जोडिएका कारण पीडामा परेका, विपद्मा परेका, दुःखमा परेकासँग कुनै न कुनै रुपमा जोडिइरहें । तर त्यही पीडा आफैलाई पर्दाको अनुभूति भने पहिलो पटक गर्दैछु ।

बाबुबाजेलाई भेँडीगोठ नै प्यारो, छोराछोरी सिंगापुर र अमेरिका

देविका घर्तीमगर
काठमाडौं :
रुकुम, तकसेरा–८ तल्लो सेराका ४८ वर्षका सत्जीत बुढा आफुले थाहा पाएदेखि नै भेँडा गोठालो छन्। अहिले उनी तीन घरको सात सय भेँडा हेर्छन्। पुर्खाले निरन्तरता दिँदै आएको भेँडापालन पेशा छाड्न नसकेको सत्जीत बताउँछन्। उनी भेँडा चराउन बथान लिएर रुकुम, रोल्पा, दाङ, कर्णालीको डोल्पासम्म पुग्छन्।  भेँडा बेचेर जीवन गुजारा गर्ने सत्जीतलाई आफुपछि भेँडापालन पनि अन्त्य होला भन्ने चिन्ता छ। ‘हाम्लाई त हाम्रो पुर्ख्यौली पेशाको माया लाग्छ। तर के गर्ने र छोराछोरीले मान्दैनन्',